क्षयकर पदार्थ सेवन (corrosive substance ingestion)

क्षयकर पदार्थ सेवन (corrosive substance ingestion)

क्षयकर पदार्थ भनेको सम्पर्कमा रहेको कुनै पनि वस्तुलाई क्षति पुराउने वस्तु हो । तेजाब( acid ) र अल्काली( alkali) यस्ता पदार्थमा पर्ने गर्छन । यस्तो पदार्थमा सजिलै पहुँच हुने हुँदा आजको समयमा यस्ता पदार्थको सेवन सामान्य भैसकेको छ । बाथरुममा प्रयोग गरिने टोइलेट क्लिनर देखि लिएर भान्छामा प्रयोग गरिने विनेगर सबै क्षयकर पदार्थ हुन् । ब्लीचिंग पाउडर , साबुन , बेट्री इत्यादि पनि यस्ता पदार्थका श्रोत हुन् । दुर्घटनाको कारण होस् या आत्महत्याको प्रयासको कारण , यस्ता पदार्थ सेवनको घटना आजकल थुप्रै देखिन पाइन्छ । तर यस्ता पदार्थ सेवनबाट हुने पीडा तथा प्रतिकूल असरका बारे भने धेरैजना अनभिज्ञ नै छन् ।

एसिड सेवन: तेजाब सम्पर्कमा आएको कुनै पनि वस्तुसंग तुरुन्त प्रतिक्रिया गर्छ जसले गर्दा उक्त वस्तुमा क्षति पुग्न जान्छ । तर एसिड निकै अमीलो तथा तीखो हुने हुनाले कसैले पनि यो धेरै सेवन गर्न सक्तैनन् । त्यसैले एसिड सेवन अल्काली सेवनभन्दा कम हानिकारक हुन्छ । साथै एसिडको प्रतिक्रियाबाट ठोस पदार्थ निस्कन्छ जसले अन्ननलीलाई ढाक्ने काम गर्छ र अरु क्षति हुनबाट जोगाउँछ । तेजाबबाट हुने क्षति खासगरी पेटको पुछार( pylorus) मा हुने गर्छ ।

अल्काली सेवन:अल्कालीको स्वाद र वासना नहुने भएकोले यसको सेवनको मात्रा तेजाबभन्दा धेरै हुन्छ । यसले लाईपोप्रोटिनलाई पगाल्छ जसले गर्दा अल्काली अझ भित्र घुस्न मद्दत पुग्छ । त्यसैले अल्कालीले हुने क्षति तेजाबले हुने क्षति भन्दा कैयौं गुना बढी हुने गर्छ । यसको क्षति मुख्यत अन्ननली (esophagus) मा हुन्छ ।

सेवनपछिका लक्षणहरु :

  • सास लिनमा कठिनाई
  • रुखो आवाज
  • निल्नमा कठिनाई या निल्दाखेरि हुने दुखाई
  • पेट दुखाई
  • रगतको वान्ता
  • छातीमा पीडा

सेवनपछि हुन सक्ने प्राणघाती प्रतिकुल असरहरु:

  • अन्ननली या पेटमा छिद्र हुनु
  • श्वासनली सुन्निनु
  • रगतको कमी हुनु
  • संक्रमण हुनु

क्षयकर पदार्थ सेवन गरेको मान्छेको तुरुन्त उपचार नभए ज्यानलाई पनि खतरा हुन सक्छ । मृत्युको मुख्य कारण या त श्वासनली सुन्निनुले गर्दा हुन्छ जसले गर्दा बिरामीले सास फेर्न सक्दैनन् , या त अन्ननली या पेटमा हुने छिद्रको कारण हुन्छ जसले गर्दा संक्रमण छातीमा, पेटमा र त्यसपछि पुरा शरीरमा फैलिन्छ । त्यसैले यस्ता बिरामीलाई निकै ध्यानपूर्वक हेर्नु जरुरी हुन्छ । यस्ता बिरामीमा निम्न कुराहरु कदापी गर्न हुँदैन : उल्टी गराउनु, पेट सफा गर्ने पाइप हाल्नु, पेट सफा गर्ने कोइला दिनु ।

यदि यस्ता बिरामीलाई सास लिनमा कठिनाई भए कृतिम श्वास नली लगाउनु पर्ने पनि आवश्यकता हुन सक्छ । यस्ता बिरामीको शरीरमा जलको कमी हुने गर्छ जसले गर्दा रक्तचाप कम हुन गई मृत्यु पनि हुन सक्छ । त्यसैले रक्तनलीबाट जल दिनु जरुरी हुन्छ । पेटको तेजाब कम गर्ने औषधि र एन्टिबायोटिक पनि दिन जरुरी हुन्छ । बिरामीको अवस्था स्थिर भएपछि अन्ननली या पेटमा भएको क्षति हेर्न एक्स- रे , इन्डोसकोपि तथा अन्य जांचहरु गरिन्छ । यदी अन्ननली या पेटमा छिद्र भए तुरुन्त अप्रेसन गर्न जरुरी हुन्छ ।

यस्ता बिरामीहरुलाई पछि गएर अन्ननली खुम्चिएर सानो हुने समस्या हुन्छ जसले गर्दा खाना खान समस्या हुने गर्छ । यसको लागि शल्य चिकित्सा समेत गर्नु पर्ने आवश्यकता पर्न सक्छ । साथै यस्ता बिरामीहरुको पेटमा पनि स्थायी क्षति हुन गई पेटको क्षमतामा कमी आउन सक्छ । अन्तमा यस्ता बिरामीहरु फेरी फेरी यस्ता पदार्थ सेवन गर्ने सम्भावना पनि हुन सक्छ, त्यसैले मानशिक उपचारको पनि आवश्यकता रहन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ