गलगाँड (Goiter) – क्यान्सर त होइन ?

गलगाँड (Goiter) – क्यान्सर त होइन ?

के तपाईंको घाँटीमा गान्टो देखिएको छ ? के यो छिटो छिटो ठूलो भैराखेको छ ? यो कतिको दुख्छ ? के तपाईंको आवाजमा पनि बदलाव आएको छ ? अनि सास लिनमा कठिनाई त छैन ? होश पुराउनुस , यो क्यान्सर पनि हुन सक्छ ।

गलगाँड भनेको घाँटीको अघिल्लतिर मध्यरेखानिर हुन्छ जुन थाईरोइड़ ( thyroid) ग्रन्थी बढ्नुको कारण हुन्छ । तर घाँटीको हरेक गाठो गलगाँड भने हुँदैन – यो लाईपोमा (Lipoma), डरमोइड़ सिस्ट ( Dermoid cyst ) , लिम्फ नोड (Lymph Node) इत्यादि हुन सक्छन । गलगाँडलाई अन्य गाँठबाट छुट्टाउने सरल तरिका हो कि गलगाँड निल्दाखेरि माथितिर सर्छ तर अन्य गाँठ भने सर्दैन । नेपालमा गलगाँडको मुख्य कारण प्रायजसो आयोडिनको कमीको कारण हुन्छन् तर यो क्यान्सर होइन भनेर भन्न सकिन्न । गलगाँडका प्रमुख कारणहरु हुन्:

  • साधारण गलगाँड: आयोडिन को कमी, सुत्केरीको गलगाँड, तारुन्यताको (puberty) गलगाँड, सामान्य पिंडदार गलगाँड ( simple nodular goiter), रसयुक्त गलगाँड ( colloid goiter)
  • विषाक्त ( toxic) गलगाँड: मौलिक (primary) गलगाँड- grave’s disease, एकलौटी थाईरोइड पिंड ( solitary thyroid nodule) , बहु पिंडदार गलगाँड ( multinodular goiter)
  • क्यान्सर : Papillary, Follicular, Anaplastic, Medullary
  • उत्तेजक थाईरोइड पिंड (Inflammatory thyroid swelling): Hashimoto disease, De-Quervan disease, Reidel thyroiditis

साधारण गलगाँडमा गाँठ बाहेक अरु समस्या केही हुन्न । विषाक्त गलगाँडमा थाईरोइड हर्मोन बढी भएको लक्षणहरु पनि साथ रहन्छ । उत्तेजक पिंड (Inflammatory swelling) कष्टप्रद रहन्छ । यति हुँदा पनि क्यान्सरलाई अन्य गलगाँडबाट छुटाउन सजिलो हुन्न ।

यदि निम्न लक्षणहरु भए क्यान्सर हुने सम्भावना बढी रहन्छ:

  • १४ साल भन्दा कम या ७० साल भन्दा धेरै उमेर भएको मानिस
  • · पुरुष
  • परिवारमा क्यान्सर रहेको पूर्ववृतान्त
  • विकिरण ( radiation) लागेको पूर्ववृतान्त
  • छिटो छिटो बढ्दो गाँठो
  • अचल गाँठो
  • कडा गाँठो
  • घाँटीमा अन्य गाँठो हुनु
  • अन्य लक्षणहरु : सास लिन गाह्रो हुनु, अवाज रुखो हुनु , निल्न गाह्रो हुनु

थाईरोइडको क्यान्सर प्राणघाती रोग हो तर समयमै उपचार गरे यसको निदान सम्भव छ । त्यसैले यदि तपाईंको थाईरोइडमा गाँठो रहेको शंका रहे तुरुन्त स्वास्थ्य संस्थामा देखाउन जरुरी छ । थाईरोइड कार्य जांच ( thyroid function test ) गरी शरीरमा थाईरोइड हर्मोन बढी रहे-नरहेको हेरिन्छ र यदि बढी रहेको पाईएमा थाईरोइड प्रतिरोधक औषधी दिइन्छ । यस्तो गाँठो क्यान्सर रहने सम्भावना कम रहन्छ र आयोडिन विकिरण जांच ( radioactive iodine) द्वारा यसको मूल्यांकन गरिन्छ । क्यान्सरको आशंका रहे अल्ट्रासाउन्ड गरिन्छ र सुई द्वारा गाँठोबाट नमुना ( fine needle aspiration) लिइन्छ । यदि नमुनामा क्यान्सर रहेको मिलेमा अप्रेशन गराई थाईरोइड ग्रन्थी निकाल्नु ( total thyroidectomy) पर्छ ।

अप्रेशन पश्चात पनि यो क्यान्सर पूर्णरुपमा नहटेको हुन सक्छ । त्यसैले अप्रेशन पश्चात २-१२ हप्ताको बीचमा टि. एस. एच. ( T. S.H.) हर्मोन र थाईरोग्लोब्युलिन ( thyroglobulin ) को मात्रा जांच गरिन्छ । यसमा यदि थाईरोइड बाँकी रहेको मिलेमा विकिरण द्वारा उपचार गर्नु आवश्यक रहन्छ । यस्तो विरामीको आयोडिन विकिरण जांच गरिन्छ । यदि आयोडिन विकिरण जांचमा आयोडिन अपटेक ( R.A.I. uptake) रहेको मिलेमा आयोडिन विकिरण द्वारा उपचार ( R.A.I. ablation) गरिन्छ । यदि आयोडिन अपटेक नरहेको मिलेमा बाह्य विकिरण ( external beam radiotherapy) द्वारा उपचार गरिन्छ । थाईरोइड क्यान्सर पूर्णरुपमा उन्मुलन भएपनि क्यान्सर पुनः प्रादुर्भाव ( recurrence) हुने सम्भावना भने रहन्छ । त्यसैले बिरामीले समय- समयमा चिकित्सकलाई देखाइ राख्नुपर्नेछ। समय- समयमा टि. एस. एच. हर्मोन र थाईरोग्लोब्युलिन को मात्राको जांच र अल्ट्रासाउन्ड गराइ रहनु पर्छ र यदि असामान्य रिपोर्ट आएमा सोही अनुरुप जांच र उपचार गराउनु पर्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ