क्यान्सर : के हो यो ?

क्यान्सर : के हो यो ?

प्राचीनकालमा मानिस भोकले मर्थे, लडाईंले मर्थे या जंगली जनावरको शिकार भएर मर्थे । मानिसले समूहमा बसेर काम गर्न सिके, खेती गर्न सिके , मृत्युलाई चुनौती दिए । प्रकृतिले मानिसलाई संक्रमण दिए , महामारी पठाए । मानिसले त्यसलाई पनि हराए । तर त्यसपछि आयो क्यान्सर : प्रकृतिको अर्को अस्त्र , मृत्युको संदेश , मानिसमाथि प्रकृतिको श्रेष्ठताको संकेत । तर मानिसले कहिले हार्न सिकेन , सधैं लडिरहे , जुन युद्ध अझै जारी छ , जसमा हामी सबै समावेश छौं ।

आखिर के हो त क्यान्सर ? किन यति खतरनाक छ ? के साँच्चै यसको कुनै उपचार छैन ? छ भने कतिको उपयोगी छ त ? नाम सुन्ने बित्तिकै सबैलाई आतंकित गर्ने यो क्यान्सर के हो त ?
क्यान्सर कुनै बाहिरी हमला होइन , यो त मानव शरीरको भित्री अव्यवस्था हो । यो शरीरको कुनै एक कोषिकाको असमनव्यता हो जसले गर्दा उक्त कोषिका अप्राकृतिक रुपले प्रस्तुत हुन्छ । शरीरको अन्य तन्तुहरुबाट सम्बन्ध बिच्छेद भइ यो स्वतन्त्र रुपमा बढ्दै जान्छ र क्यान्सर बन्छ । कुनै पनि कोषिका क्यान्सर बनेपछि त्यसमा निम्न परिवर्तनहरु आउँछन् :

  • स्वयं बढ्न सक्ने सक्षमता (Self-sufficiency in growth signals)
  • बढोतरी रोक्ने संकेतप्रति असंवेदनशीलता (Insensitivity to growth-inhibitory signals)
  • कोषिका आत्महत्याबाट मुक्ति (Evasion of apoptosis)
  • अनन्त बढोतरीको सक्षमता (Limitless replicative potential)
  • बढ्दो रक्तनलीको प्रवाह (Development of sustained angiogenesis)
  • अन्य अंगमा आक्रमण गर्नसक्ने सक्षमता (Ability to invade and metastasize)
  • जीनको अस्थिरता (Genomic instability)

यी परिवर्तनहरुका कारण क्यान्सर असामान्य रुपले ठूलो हुँदै जान्छ । बिस्तारै यो पुरै शरीरमा फैलिन्छ । यसले शरीरको सब पोषक तत्वहरुको खपत गर्छ जसले गर्दा शरीरको अन्य अंगहरुलाई चाहिने पोषक तत्वहरुको कमी हुन्छ र ती अंगहरु शिथिल बन्दै जान्छ । मानिस कमजोर हुन्छ , संक्रमणको सम्भावना बढ्छ । उसका अंगहरु काम गर्न बन्द हुन्छ र अन्तमा उसले मृत्युको सामना गर्नु पर्छ।

के कारणले शरीरको सामान्य कोषिका क्यान्सर बन्छ त ? वास्तवमा भन्ने हो भने हाम्रो वातावरणमा रहेको कुनै पनि तत्व क्यान्सर गराउन सक्षम छ । प्रदूषित यो वातावरणमा शायदै कुनै ठाउँ होला जहाँ हामी क्यान्सरबाट बच्न सक्छौं । त्यसैले भनिन्छ कि क्यान्सरबाट मुक्ति पाउने एक मात्र उपाय हो जन्म नलिनु । तर केही उपायहरु छन् जसको पालना गरे हामी क्यान्सरको खतरा कम गर्न भने सक्छौं । क्यान्सर गराउन सक्ने तत्वहरु निम्न प्रकारका छन् :

  • रासायनिक तत्वहरु : पेट्रोलियम पदार्थ , पेन्ट , कीटनाशक , रासायनिक मल इत्यादि
  • चुरोट, खैनी तथा मादक पदार्थ सेवन
  • धातु पदार्थ : लीड , आर्सनिक , निक्कल , क्रोमियम इत्यादि
  • बासी तथा सडेको खानाको सेवन , चिल्लो खाना , कम फाइबर भएको खाना, रातो मासु
  • विकिरण: सूर्यको विकिरण , न्युक्लियर रियाक्टर तथा अन्य विकिरण
  • संक्रमण: हेपाटाइटिस , एच. पी. भी. ( H.P.V.) भाइरस , एच. टि. एल. भी. (H.T.L.V.) भाइरस , एच. पाइलोरी ( H. pylori) , एच. आइ. भी. ( H.I.V.) भाइरस

यी त क्यान्सरका बाह्य कारकहरु हुन् । तर मानवको आफ्नो जीनको बनावटले पनि उसलाई क्यान्सरप्रति बढी झुकाव राख्न सक्छ । त्यसैले कसैलाई चुरोट खाएको केही सालमै फोक्सोको क्यान्सर हुन्छ त कोही सालौ साल बिना क्यान्सर रहन्छ । यस्तै केही क्यान्सरहरु परिवारका सदस्यहरुमा बढी देखिन्छ । बढ्दो उमेर पनि क्यान्सरको प्रमुख कारण हो । आफ्नो शरीरमा कुन चाहिँ क्यान्सर हुने सम्भावना बढी छ भनेर थाहा पाउन भने मुश्किल छ । त्यसैले हामी सबैले ती सबै क्यान्सरमूलक तत्वहरुदेखि टाढा रहनु जरुरी छ । स्वस्थ खाना खानु पर्छ, हरियो सब्जी तथा फलफूलको सेवन गर्नु पर्छ । धेरै मसलादार खाना , पोलेको या जलेको खाना कम सेवन गर्नु पर्छ । धुम्रपान तथा मध्यपान कम गर्नु पर्छ । वातावरण दुषित हुनबाट रोक्नु पर्छ। नियमित व्यायाम गर्नु पर्छ , वजन कम राख्नु पर्छ । अन्तमा क्यान्सर भएको सन्देह रहेमा तुरुन्त चिकित्सककहाँ देखाउनु पर्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ