टाउको दुख्नु (दोस्रो भाग)

टाउको दुख्नु (दोस्रो भाग)

अगिल्लो लेखमा उल्लेख गरिएका विभिन्न टाउको दुख्ने बिमारिका अलावा टाउको दुख्ने अरु कारण हुन सक्छन । यो समस्या उत्पन्न गराउने मुख्य मुख्य कारणहरु (अरु रोगहरु) हुन्

  • रुघाखोकी तथा पिनास
  • गर्धन तथा टाउकाका नशाहरु दबिनु
  • ब्लडप्रेसरको बिमारी
  • मस्तिस्कका बिरामीहरु जस्तै मस्तिस्कज्वोर, पक्षघात, ट्युमर, नसाको बिरामी आदि
  • बिष सेवन
  • कतिपय औसधिहरुका साइड इफेक्ट
  • रक्सिको ह्यांगओभर, धेरै चुरोट पिउनु तथा अरु नशा सेवन
  • शरीरमा पानि, नुनको मात्रा तथा सुगर को मात्रा गडबड हुनु
  • शारीरिक ब्यायाम तथा कसरत धेरै हुनु इत्यादी
    माइग्रेन, टेन्सन हेड़ेक तथा क्लस्टर हेड़ेक आफैमा अलग्गै बिमारी हुन् ।

रोकथाम तथा उपचारका उपायहरू

टाउको दुखने समस्याको सही उपचार भनेको यो समस्या पैदा गराउने अन्य कारणको सही निदान एबम उपचार हो । जस्तो की रक्सी, नसा या लागूपदार्थको सेवन नगर्ने; रुघाखोकी बाट बचने , गर्धनको नशा को समस्या भए त्यसको उपचार गर्ने; पानी प्रशस्त पिउने, शरीरमा रगत तथा तागतको कमी हुन नदीने इत्यादि । साथै औषधिको साइड इफेक्टको कारणले टाउको दुखिरहेको हो भने आफ्नो डाक्टरलाइ भेटेर भन्नु राम्रो हुन्छ । डाक्टरले तपाईको औषधि परिवर्तन गर्न या सही तरिकाले सेवन गर्न सिकाउन सक्छन ।

तर धेरैजसो केसमा टाउको दुख्ने समस्याको रोकथाम यस्तो सजिलो हुदैन । किनभने ९०% भन्दै धेरै मानिसमा यो समस्या माइग्रेन वा टेन्सन हेड़ेक वा दुबैको कारणले गर्दा हुन्छ जसको कुनै खास कारण हुदैन । माइग्रेन र टेन्सन हेड़ेक दुवै बाट बच्न अथवा कम दुखदाई बनाउन केहि उपायहरु अबलम्बन गर्न भने अबस्य सकिन्छ । दैनिक जिबनशैली लाइ नियमित गर्ने, पर्याप्त सुत्ने, तनाब कम गर्ने, चिया कफी अत्यधिक पिउने बानि छ भने कम गर्ने, नियमित ब्यायाम गर्ने, आफु र परिवारको लागि समय निकाल्ने कुराहरु उपयोगी हुनसक्छन । माइग्रेनका कतिपय बिरामीलाई खास खानपिन (चोकोलेट, चीज, अचार, अजिनोमोटो, केरा, गहुँका परिकार इत्यादी) तथा आसपासको बातावरण (जस्तोकि भिडभाड, हल्ला हुने ठाउँ) को कारण समस्या बढ्न सक्छ । कतिपयमा मौसमको परिबर्तन को समयमा, महिनावारीको समयमा माइग्रेन ले धेरै दुख दिन्छ । यस्ता खास कुराहरुलाई पहिचान गरेर साबधानी अपनाएमा फाइदा हुनसक्छ ।

माइग्रेन, टेन्सन हेड़ेक तथा अन्य कारणले गर्दा हुने टाउको दुख्ने समस्या सामन्यत पेनकिलरहरु ( सिटामोल, ब्रुफेन आदि) खाएपछि कम हुन्छ । तर यस्ता दबाई डाक्टरको सल्लाह बिना लामो समयसम्म लिनु हुदैन । अधिकांशमा टाउको दुख्नु कुनै गम्भीर बिरामी नभएपनि कुनैबेला टाउको दुख्नु कुनै खतरनाक बिमारिका लक्षण हुन सक्छन ।

तत्काल डाक्टरको सल्लाह लिनुपर्ने मुख्य मुख्य अवस्था हरु हुन् :

  • पहिलोपटक अचानक तेज टाउको दुख्नु
  • सहनै नसकिने गरि टाउको दुख्नु
  • लामो समयसम्म टाउको दुख्नु
  • साथमा बान्ता आउनु, मुर्छा पर्नु , बेहोश हुनु, गर्धन चलाउन मुस्किल हुनु, ज्वोरो आउनु जस्ता लक्षण हुनु
  • आँखाको देख्ने शक्तिमा गडबडी हुनु (धमिलो देखिनु, एउटा चीज दुइटा देखिनु )
  • शरीरको कुनै भागले काम नगर्नु या कमजोर हुनु
  • अचम्मका हरकतहरु तथा असान्दर्भिक कुराहरु गर्न लागेमा

संक्षेपमा भन्नुपर्दा टाउको दुख्ने समस्या एक आम समस्या हो । विभिन्न साबधानी अपनाएमा यस्तो समस्यालाई कम गर्न सकिन्छ । समस्या धेरै भयो भने अथवा माथि उल्लेख गरिएका जस्ता गम्भीर लक्षण देखिएमा भने तुरुन्त डाक्टरको सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ